काठमाडौं । स्याङ्जामा चर्को आवाजमा मोटरसाइकल चलाएको निहुँमा कुटपिट गरिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा, २४ वर्षीय अनिल शाही ठकुरी, २० वर्षीय विवेक मानन्धर, १८ वर्षीय बादल विक, २३ वर्षीय गुरुप्रसाद लम्साल, १६ वर्षीय आर्यन क्षेत्री, २३ वर्षीय विश्वास वाग्ले र वडा नं. ६ का २२ वर्षीय निशान थापा रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र मातहतका टोलीले स्याङ्जाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनामा वालिङ नगरपालिका–५ जर्कोटका ३२ वर्षीय ढालबहादुर थापा कुटपिटमा परेका थिए। ७ भदौ राति ११ बजे मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको हो। उपचारका लागि पोखरा गण्डकी मेडिकल कलेजमा लगिएकोमा ८ भदौ बिहान उनको मृत्यु भएको थियो।

प्रहरीका अनुसार पक्राउ परेका आठ जना सोही वडामा भलिबल खेलेर फर्कँदै गर्दा मदिरा सेवन गरेका थिए। त्यसपछि मोटरसाइकलको आवाजका कारण थापासँग विवाद भई कुटपिटमा परिणत भएको बताइएको छ।

पक्राउ परेका आठ जनाविरुद्ध कर्तव्यज्यान मुद्दामा अनुसन्धान सुरु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय