
काठमाडौं । नक्कली सुन देखाएर ठगी गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१ का ३३ वर्षीय लाक्पा शेर्पालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार (भदौं ६) काठमाडौं महानगरपालिका–२६ बाट नियन्त्रणमा लिएको हो।
उनको साथबाट सुनजस्तो देखिने १ केजी पहेँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ। परीक्षण गर्दा उक्त धातु सुन नभएको पुष्टि भएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।

“सुन भनेर विभिन्न व्यक्तिलाई झुक्याएर ठग्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,” एसपी जिसीले बताए। पक्राउ परेका शेर्पालाई कानुनबमोजिम कारबाहीको लागि आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



