काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाबीच हनुमानढोका दरबार परिसरमा रहेको नेपाल प्रहरीको जीर्ण भवन भत्काउने विषयमा मंगलबार छलफल भएको छ।

महानिरीक्षक थापा मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय पुगेपछि मेयर शाहसँग भएको भेटवार्तामा सो भवन भत्काउने र वैकल्पिक भवन निर्माणसम्बन्धी विषयमा विस्तृत छलफल भएको प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले जानकारी दिए।

डीआईजी घिमिरेका अनुसार, “आईजीपीसाप र मेयर बालेनज्यूबीच हनुमानढोका दरबार परिसरमा रहेको प्रहरीको जीर्ण भवन भत्काउने विषयमा कुराकानी भएको हो।”

वि.सं. २०१२ सालदेखि हनुमानढोकामा रहेको उक्त भवन २०७२ सालको विनाशकारी भूकम्पपछि जीर्ण बनेको थियो र त्यसपछि प्रहरीले त्यहाँबाट अन्यत्र सरेको थियो।

अब उक्त जीर्ण भवनलाई भत्काएर, नयाँ भवनको निर्माण ट्राफिक प्रहरी कार्यालय रहेको बग्गीखानामा गर्ने प्रस्तावमा छलफल भएको हो। घिमिरेका अनुसार भवन निर्माणका लागि आवश्यक मापदण्ड तय गरी योजना अघि बढाउने सहमति पनि भएको छ।

यस कदमले ऐतिहासिक सम्पदा क्षेत्रको संरक्षणसँगै सुरक्षा निकायका संरचनाहरूको पुनः व्यवस्थापन गर्ने उद्देश्य राखिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय