काठमाडौं — सशस्त्र प्रहरी बल नेपालको रिक्त एक पदमा मनिष थापा नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्।

सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिक ब्याचका थापालाई बढुवा समितिको असार ३२ गतेको बैठकले सिफारिस गरेको थियो, जसपछिको गृहमन्त्रीस्तरीय निर्णयबाट उनी डीआईजीमा बढुवा भएका हुन्।

सिसं १ ब्याचका ९ अधिकृतमध्ये थापा सातौँ र अन्तिम व्यक्ति हुन् जो डीआईजी बन्न सफल भएका छन्। बाँकी दुई — प्रकाश थापा र विनोदराज श्रेष्ठ — ले पटक-पटक प्रयास गर्दा पनि स्टाफ कलेज नगरेकाले अब उनीहरू एसएसपीबाटै सेवा निवृत्त हुने पक्का भएको स्रोतको भनाइ छ।

सशस्त्र प्रहरीमा डीआईजीमा बढुवा हुन स्टाफ कलेज अनिवार्य छ, तर नेपाल प्रहरीबाट सशस्त्रमा स्थानान्तरण भएकालाई भने यो प्रावधान लागू हुँदैन। नेपाल प्रहरीबाट प्राविधिक सईको रूपमा सशस्त्रमा प्रवेश गरेका कृष्णराज पाठक र प्रवीण कँडेल लाई स्टाफ कलेज अनिवार्य छैन। यद्यपि, पाठकभन्दा जुनियर ९ जना डीआईजी बनिसके पनि कमजोर कार्यसम्पादनका कारण उनी अझै एसएसपीकै स्तरमा छन्।

कँडेल भने वरीयतामा सिसं १ भन्दा मुनि र सिसं २ भन्दा माथि पर्छन्। आफूभन्दा जुनियर दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट डीआईजी बनेपछि उनले सशस्त्र प्रहरी अधिकृत सम्मेलनमै नेतृत्वमाथि तथ्यहीन आरोप लगाएका थिए। यसै विषयमा उनलाई सशस्त्र प्रहरी मुख्यालयले १२ घण्टे स्पष्टीकरणसहित दुईवटा स्पष्टिकरण सोधेको थियो। यद्यपि, शक्तिकेन्द्रको संरक्षणका कारण उनी कारबाहीबाट जोगिएका हुन्।

स्रोतका अनुसार, कँडेल आफ्नो आलोचना गर्ने व्यक्तिलाई खोज्ने धम्की दिँदै हिंडेको देखिएको छ, विशेषगरी वरिष्ठ सम्मेलनबारे लोकपथमा समाचार प्रकाशित भएपछि।

त्यस्तै, असार ३२ गते नै लेखा उपसमूहतर्फ कार्यवाहक एसएसपी रहेका होमबहादुर ज्ञवाली र प्राविधिक संचार तथा इन्जिनियरिङ समूहतर्फ प्राविधिक एसपी इन्जिनियर मिलनमान मास्के पनि एसएसपीमा बढुवा सिफारिस भई गृहमन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका छन्।

यी तीनै अधिकृतहरूलाई आज दिउँसो ३ बजे सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अल्फ्रेस्को गार्डेनमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा सहभागी हुन प्रधान कार्यालयका सशस्त्र प्रहरी निरीक्षक र माथिल्ला तहका अधिकृतहरू, उपत्यकास्थित कार्यालय प्रमुखहरू, राष्ट्रिय सुरक्षा परिषद् सचिवालय, सिंहदरबारका अधिकारीहरू, तथा यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनीका समादेशकहरूलाई बार अनुसारको पोसाकमा अनिवार्य उपस्थिति जनाउन सूचित गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय