
दैलेख — दैलेख जिल्लामा शान्ति सुरक्षालाई प्रभावकारी बनाउने प्रयास जारी रहे पनि लागू औषध दुव्र्यसन र आत्महत्याका घटनाहरू प्रमुख चुनौतीको रूपमा देखा परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा विगत एक वर्षको अवस्थाबारे विस्तृत जानकारी दिएको हो।
प्रहरी इञ्चार्ज डिएसपी गणेशबहादुर बरालका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्रै २ सय १८ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। प्रहरीका अनुसार यो संख्या अघिल्लो दुई आर्थिक वर्षको तुलनामा उल्लेख्यरूपमा बढेको छ, विशेषगरी लागू औषधसम्बन्धी घटनामा तेब्बर वृद्धि भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले पत्रकारहरूलाई जानकारी गराउँदै आत्महत्याका घटना सबैभन्दा बढी रहेको बताए। उनका अनुसार,
- आत्महत्या — ४७
- बलात्कार — २५
- लागू औषध — ११
- सवारी दुर्घटना — ९
- व्यक्ति हत्या — ७
- ज्यान मार्ने उद्योग — ७
- आत्महत्या दुरुत्साहन — ६
- हातहतियार — २
- ठगी — २
जस्ता मुद्दा दर्ता भएका छन्।
प्रहरीले जिल्लाका २५ वटा ईलाकामा ६२५ वटा ठाडो उजुरी प्राप्त गरेको जानकारी पनि दिएको छ।
तीमध्ये:
- ५६२ वटा उजुरी मिलापत्रमार्फत टुंग्याइएको,
- २० जना उजुरीकर्तासँग सम्पर्क हुन नसकेको,
- ३७ उजुरी सम्बन्धित निकायमा पठाइएको र
- ६ वटा उजुरी अझै छलफलकै चरणमा रहेको जानकारी दिइएको छ।
यता, विपदसम्बन्धी घटनामा पनि केही जनधनको क्षति भएको प्रहरीले जनाएको छ।
- चट्याङ लागेर ३ जनाको,
- पहिरोमा पुरिएर २ जनाको, र
- आगलागीमा परेर १ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ।
डिएसपी बरालले भने, “हालको समय विपद् व्यवस्थापनको दृष्टिकोणले संवेदनशील छ। त्यसैले दैलेख प्रहरी सम्पूर्ण सुरक्षा निकायहरूसँग समन्वय गर्दै पूर्ण तयारी अवस्थामा छ।”
प्रहरीले शान्ति सुरक्षा कायम राख्न जनसहभागिता, विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम, लागू औषध नियन्त्रण अभियान र आत्महत्याको रोकथामका लागि मानसिक स्वास्थ्य सल्लाह केन्द्रहरूसँग सहकार्य गर्दै अघि बढिरहेको बताएको छ।
दैलेखजस्तो पहाडी जिल्लामा सुरक्षा चुनौती फरक प्रकृतिका भए पनि त्यसको प्रभावकारी व्यवस्थापनमा प्रहरीले विगत वर्षको तुलनामा बढी सक्रियता देखाएको यो विवरणले पुष्टि गर्छ। सुरक्षा र अपराध नियन्त्रणको यो प्रतिवेदन स्थानीय प्रशासन, नीति निर्माणकर्ता र नागरिक समाजका लागि सन्देशमूलक मानिन्छ।



