
बाँके –भारतबाट सुनका गहना र नगद चोरी गरी नेपाल फर्किएका ६ जनालाई बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले कोहलपुर नगरपालिका–११ स्थित होटल न्यू कालिकोटेबाट ती व्यक्तिहरूलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा खटिएको ७ सदस्यीय प्रहरी टोलीले होटलको कोठा नम्बर ००८ मा बसेका व्यक्तिहरूलाई पक्राउ गर्दै उनीहरूका साथबाट ठुलो परिमाणमा चोरी गरिएको धनमाल बरामद गरेको बाँके प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट १५ तोला २५ लालपित्यारहित सुनका गरगहना तथा नेपाली रुपैयाँ ७ लाख ८७ हजार नगद बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले भारतबाट चोरी गरी नेपाल फर्किएर होटलमा लुकेर बसेका थिए।
पक्राउ पर्नेहरूका विवरण यसप्रकार छन्: मनबहादुर शाही , तेजबहादुर शाही ,पंकज के.सी, सरिता शाही , प्रेमबहादुर खत्री र अनिता खत्री रहेका छन् ।
हाल पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरकी डिएसपी लक्ष्मी खनालले जानकारि दिनुभयो।



