रूपन्देही। लुम्बिनी प्रदेशको भारतसँग जोडिएको सीमावर्ती क्षेत्र हुँदै सञ्चालन हुँदै आएको मोबाइल तस्करीको संगठित सञ्जाल फेरि चर्चामा आएको छ। पछिल्ला दुई सातामा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले करिब ६० लाख रुपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेपछि तस्करीका पछाडि रहेको सम्भावित संरक्षण संयन्त्रबारे प्रश्न उठ्न थालेको हो।

सुरक्षा स्रोतका अनुसार तस्करीमा क्यारियरका रूपमा धेरै व्यक्ति प्रयोग भए पनि यसको मुख्य योजनाकार ‘प्रकाश’ नामले चिनिने व्यक्ति रहेको अनुसन्धानमा खुलेको बताइन्छ। लामो समयदेखि भारतीय सीमाबाट अवैध रूपमा मोबाइल नेपाल भित्र्याउने सञ्जाल सक्रिय रहेको दाबी गरिएको छ।

यस प्रकरणमा सशस्त्र प्रहरी बल लुम्बिनी प्रदेश बाहिनीअन्तर्गत घुमुवाका रूपमा परिचालित सहायक हवल्दार इश्वर कार्की र प्रदीप राणामाथि तस्करी समूहलाई संरक्षण दिएको आरोप लागेको छ। स्थानीय व्यवसायी तथा सुरक्षा स्रोतहरूले उनीहरूले तस्करहरूसँग समन्वय गर्दै अवैध कारोबार सहज बनाएको दाबी गरेका छन्। यद्यपि, यी आरोपहरूबारे आधिकारिक पुष्टि भने भइसकेको छैन।

स्रोतका अनुसार लुम्बिनी प्रदेश बाहिनीका प्रमुख डिआइजी दीपक अधिकारीले विषयमा जानकारी पाएपछि कार्की र राणालाई रूपन्देहीबाट हटाएर गुल्मी काजमा पठाएका छन्। उनीहरूसँगै रूपन्देहीमै कार्यरत सशस्त्र प्रहरी जवान श्याम र कृष्ण केसीलाई पनि पाल्पा काज गरिएको बताइएको छ। उनीहरूलाई घुमुवाका रूपमा परिचालन गरिएको आरोपसमेत लगाइएको छ।

सुरक्षा वृत्तका अनुसार कार्की र राणा लामो समयदेखि रूपन्देही क्षेत्रमा विभिन्न तहका प्रहरी अधिकृतका घुमुवाका रूपमा सक्रिय रहँदै आएका थिए। एउटै क्षेत्रमा लामो समय बस्दा तस्करी नियन्त्रणभन्दा तस्करहरूसँग सम्बन्ध विस्तार भएको आरोप उनीहरूमाथि बारम्बार उठ्ने गरेको स्रोतहरूको भनाइ छ।

यस्तै, उनीहरूले जागिर अवधिमा अस्वाभाविक रूपमा सम्पत्ति जोडेको चर्चा सुरक्षा निकायभित्र हुने गरेको भए पनि त्यसबारे कुनै आधिकारिक अनुसन्धान वा अदालतबाट पुष्टि भएको छैन।

स्रोतका अनुसार तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले घुमुवा प्रणाली व्यवस्थित बनाउने अभियान चलाउँदा पनि उनीहरू रूपन्देही क्षेत्रबाट पूर्ण रूपमा हटेका थिएनन्। पछि लुम्बिनी प्रदेशमा डिआइजी दिपेन्द्र कुँवर आएपछि दुवैलाई पुनः प्रदेश बाहिनीमा तानेर सीमाक्षेत्र हेर्ने जिम्मेवारी दिइएको दाबी गरिएको छ।

स्थानीय व्यवसायीहरूले कार्की र राणाले तस्कर समूहबीच कार्यक्षेत्र नै बाँडफाँट गरिदिएको आरोप लगाएका छन्। उनीहरूले ‘प्रकाश’ नामले चिनिने समूहलाई मोबाइल तस्करी तथा ‘शैदुन’ नामले चिनिने व्यक्तिलाई कपडा तस्करीमा संरक्षण दिएको दाबी गरिएको छ। यी दाबीहरूको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

सुरक्षा विश्लेषकहरूका अनुसार दुई सातामै ६० लाख रुपैयाँ बराबरका मोबाइल बरामद हुनु सामान्य घटना होइन। उनीहरूका अनुसार यो केवल पक्राउ परेको परिमाण मात्र हो। यसअघि लामो समयसम्म कति मूल्यका सामान अवैध रूपमा भित्रिए भन्ने विषयमा विस्तृत अनुसन्धान आवश्यक देखिन्छ।

यो घटनाले सीमा सुरक्षा, राजस्व चुहावट तथा सुरक्षा निकायभित्रको आन्तरिक निगरानी प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। यदि सुरक्षा निकायकै कर्मचारीको संरक्षणमा तस्करी भएको पुष्टि भए त्यसले संस्थागत जवाफदेहिता र सुशासनमाथि गम्भीर असर पार्नेछ।

यससँगै एउटै क्षेत्रमा वर्षौंसम्म घुमुवा प्रणालीमार्फत कर्मचारी परिचालन गर्दा उत्पन्न हुन सक्ने विकृतिबारे पनि बहस सुरु भएको छ। त्यसैले तस्करीमा संलग्न भनिएका व्यक्ति, सम्भावित लगानीकर्ता, सुरक्षा संयन्त्रभित्रको भूमिकालगायत सम्पूर्ण पक्षमा निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित अनुसन्धान गर्नुपर्ने माग बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय