
काठमाडौँ । नेपाली सेनाका नवनियुक्त उपरथी र प्राविधिक महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका दुवै सैनिक अधिकारीलाई नयाँ दर्जाअनुसारको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

गत २०८३ साउन २६ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्वबन्धु पहाडीलाई प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
त्यस्तै, प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. इन्दिरा आचार्यलाई पनि सोही समारोहमा नयाँ दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा सेनाका बलाधिकृत, रथी तथा अन्य उच्च सैनिक अधिकृतहरूको उपस्थिति थियो। कार्यक्रममा पदोन्नति भएका सैनिक अधिकारीका परिवारजनको समेत सहभागिता रहेको नेपाली सेनाले जनाएको छ।




