उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा सोमबार बिहान बस र अटो आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

 

सुपाडेबाट लालबजारतर्फ जाँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस बिहान करिब ९ः४५ बजे एकआपसमा ठोक्किएका थिए।

 

दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

मृत्यु हुनेमा बेलका नगरपालिका–५ की ३४ वर्षीया मन्दिरा मगर र नाम, थर तथा वतन खुल्न नसकेकी एक महिला छन्। चिकित्सकले उनीहरूलाई सोमबार बिहान करिब ११ः४५ बजे मृत घोषणा गरेका थिए।

 

दुर्घटनामा अटो चालक बेलका–५ का २८ वर्षीय इन्द्र थापा र सोही स्थानका १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था भने मध्यम रहेको बताइएको छ। तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

 

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको टोलीले बस र बस चालक बेलका नगरपालिका–५ का ३६ वर्षीय बिक्रम थापालाई नियन्त्रणमा लिएको छ।

 

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय