उदयपुर । उदयपुर प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। कटारी नगरपालिका–४ स्थित मरुवा खोला क्षेत्रबाट प्रहरीले १९९ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको हो।

 

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले भदौ ८ गते राति करिब १ः४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा टिपरबाट गाँजा बरामद भएपछि चालकसहित टिपर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी ठेगाना भएका तथा हाल कटारी नगरपालिका–४ मा बस्दै आएका २१ वर्षीय सोम मगर रहेका छन्।

 

प्रहरीले बरामद गाँजा र टिपरलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्‍याउने तयारी गरिएको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

 

घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा सञ्जालबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय