काठमाडौँ । सुकुम्बासी बस्तीको विवरण संकलनका लागि स्थानीय तहलाई पत्राचार गरेको विषयमा उठेका प्रश्नबीच नेपाली सेनाले औपचारिक प्रष्टीकरण दिएको छ। सेनाले उक्त कदमलाई मनसुनजन्य सम्भावित विपद् व्यवस्थापनसँग जोड्दै आवश्यक पूर्वतयारीको अंश भएको स्पष्ट पारेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा बाढी, पहिरो र नदी कटान जस्ता प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै सम्भावित प्रभावित क्षेत्रको जोखिम नक्साङ्कन र तथ्यांक अद्यावधिक गर्ने कार्य भइरहेको उल्लेख गरिएको छ। सेनाका अनुसार उद्धार, राहत वितरण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन पूर्वसूचना र यथार्थ विवरण अत्यावश्यक भएकाले यस्तो पहल गरिएको हो।

विज्ञप्तिमा भनिएको छ, “विगतका विपद्का अनुभवका आधारमा मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न अग्रिम योजना बनाउने उद्देश्यले सम्बन्धित निकायसँग समन्वय गर्दै विवरण संकलन गरिएको हो।”

हालै बर्दिया र उदयपुर लगायतका जिल्लामा सुकुम्बासीको विवरण माग गरिएको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र आलोचना देखिएका थिए। सोही सन्दर्भमा सेनाले आफ्नो धारणा सार्वजनिक गर्दै यसलाई केवल विपद् व्यवस्थापनको तयारीका रूपमा बुझ्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय