स्याङ्जा । स्याङ्जामा टिप्पर दुर्घटना गराई फरार भएका चालकलाई प्रहरीले घटनाको १७ दिनपछि पक्राउ गरेको छ।

गत जेठ २७ गते साँझ चापाकोट नगरपालिका–४ पुम्दीस्थित मल्याङ्कोटबाट घुर्लिचौरतर्फ सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको ग १ क ४४४६ नम्बरको टिप्पर उकालोमा चिप्लिएर करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा टिप्परमा कार्यरत म्याग्दी मालिका गाउँपालिका–५ देविस्थानका २३ वर्षीय तिलक परियार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि वालिङस्थित गह्रौं स्वास्थ्य केन्द्र पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा म्याग्दीकै १८ वर्षीय करण परियार हात र खुट्टामा चोट लागेर घाइते भएका थिए। उपचारपछि उनी सोही रात डिस्चार्ज भएका थिए।

दुर्घटनालगत्तै चालक फरार भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार फरार चालक दाङको शान्तिनगर गाउँपालिका–१ निवासी २६ वर्षीय रेशमबहादुर गिरीलाई असार १२ गते बिहान चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित कालिगण्डकी होटलबाट पक्राउ गरिएको हो।

प्रहरी वरिष्ठ नायब निरीक्षक बोमबहादुर जिसीको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न टिप्पर सडक निर्माण गरिरहेको NM RC JB कम्पनीको योजनामा प्रयोग भइरहेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय