
कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीस्थित क्षतिग्रस्त झोलुङ्गे पुल क्षेत्रमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका एक सहायक निरीक्षक (असई) महाकाली नदीमा खसेर बेपत्ता भएका छन्।
शनिबार दिउँसो तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई सन्दीप थारू नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुई साताअघि झोलुङ्गे पुलसँगै महेन्द्रनगरदेखि दोधाराचाँदनीसम्म विस्तार गरिएको नेपाल टेलिकमको तारसमेत चुँडिएको थियो। उक्त क्षतिग्रस्त तार मर्मतका लागि नदीको वारिपारि तान्ने क्रममा सन्तुलन बिग्रिएपछि थारू नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।
बेपत्ता असई थारूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। उनको अवस्था र खोजी कार्यबारे थप विवरण आउन बाँकी छ।





