
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गर्दै पुरस्कृत गरेको छ।
कर्तव्य निर्वाहका क्रममा उच्च मनोबल, साहस, अनुशासन र व्यावसायिक दक्षता प्रदर्शन गरेको मूल्याङ्कन गर्दै हमाललाई उक्त सम्मान प्रदान गरिएको हो।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा विभिन्न समुदायबीच भएको झडपपछि उत्पन्न हिंसात्मक तथा ध्वंसात्मक परिस्थितिलाई नियन्त्रणमा लिन डीएसपी हमालको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो। साउन १० गतेदेखि २७ गतेसम्म संवेदनशील क्षेत्रमा निरन्तर खटिएको प्रहरी टोलीले प्रभावकारी जनशक्ति परिचालन, क्षेत्र निगरानी तथा निषेधाज्ञा र कर्फ्यु कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
प्रहरीको सक्रियताका कारण सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा हुनसक्ने थप आगजनी र तोडफोड तथा जनधनको क्षति रोक्न सफल भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। साथै, घटनामा मृत्यु भएका व्यक्तिहरूको अन्त्येष्टिका क्रममा आवश्यक सुरक्षा व्यवस्थापन मिलाउँदै क्षेत्रमा थप हिंसा फैलिन नदिन हमालले समन्वय र सहकार्यमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी, इलाका प्रहरी कार्यालय इटहरीको कार्यक्षेत्रमा लागूऔषध नियन्त्रणतर्फ समेत उल्लेखनीय सफलता हासिल भएको जनाइएको छ। विभिन्न स्थानबाट ब्राउन सुगरसहित २३.१३ ग्राम लागूऔषध बरामद गर्नुका साथै संलग्न उल्लेख्य संख्यामा कारोबारीलाई पक्राउ गरिएको थियो।
भन्सार छली गरी विभिन्न स्थानबाट ल्याइएका कपडा तथा खाद्यान्नलगायतका सामग्रीसमेत बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सुनसरीमा दाखिला गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी संगठनको विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र व्यावसायिक ढंगले कार्यसम्पादन गरेको तथा आम नागरिकमा सुरक्षाको अनुभूति दिलाउन प्रभावकारी भूमिका निर्वाह गरेको मूल्याङ्कनका आधारमा डीएसपी हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।
प्रदेश प्रहरी कार्यालयले हमालको कार्यसम्पादनले प्रहरी संगठनको गरिमा र प्रतिष्ठा अभिवृद्धिमा योगदान पुगेको जनाएको छ।




