
सुरक्षा सरोकार , दिपक राज जोशी । राष्ट्रिय ब्याडमिन्टन खेलाडी नीता लम्साल अब प्रहरी निरीक्षक बनेकी छन्। नेपाल प्रहरीले शनिबार सार्वजनिक गरेको प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजामा लम्साल सफल भएकी हुन्।
विराटनगरकी स्थायी बासिन्दा लम्साल नेपाल प्रहरीमा रहेर खेलकुद क्षेत्रमा समेत सक्रिय रहँदै आएकी छन्। उनले कोशी बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेकी हुन्।

लम्सालले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन्। उक्त प्रतियोगितामा उनले पदकसमेत जितेकी थिइन्। त्यसबाहेक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले आफ्नो खेल करियरमा उल्लेखनीय उपलब्धि हासिल गरेकी छन्।
खेलकुद क्षेत्रमा निरन्तर सफलता हासिल गर्दै आएकी लम्सालले पछिल्लो समय प्रहरी संगठनमा समेत आफ्नो व्यावसायिक क्षमता प्रदर्शन गर्दै आएकी थिइन्। अब प्रहरी निरीक्षकका रूपमा नयाँ जिम्मेवारी सम्हाल्ने अवसर पाएसँगै उनको करियरले अर्को महत्वपूर्ण उचाइ लिएको छ।
खेल मैदानमा देशको प्रतिनिधित्व गर्दै पदक जितेकी नीताको नाम अब प्रहरी निरीक्षकका रूपमा पनि स्थापित भएको छ। उनको यो सफलता खेलकुद र प्रहरी सेवामा आबद्ध युवाका लागि समेत प्रेरणादायी बनेको छ।
प्रहरी निरीक्षक पदमा सफल भएकोमा नीता लम्साललाई हार्दिक बधाई तथा आगामी सेवायात्राका लागि शुभकामना।




