
३ भदौ, काठमाडौं । सडक विभागले मध्यपहाडी राजमार्गअन्तर्गत अछाम डिभिजनको कार्यक्षेत्रमा पर्ने सडकमा गरिएको अतिक्रमण हटाउन १५ दिनको समय दिएको छ।

कार्यालयले बुधबार सूचना जारी गर्दै मध्यपहाडी राजमार्गको बेलखेत–विनायक–मंगलसेन–बयलपाटा–साँफेबगर सडक खण्डको सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको हो।
सडक सीमाभित्र अनधिकृत संरचना निर्माण तथा अतिक्रमण हुँदा यातायात सञ्चालनमा अवरोध हुनुका साथै सडक सुरक्षामा समेत गम्भीर असर परेको कार्यालयले जनाएको छ।
तोकिएको १५ दिनभित्र संरचना नहटाए कार्यालय आफैंले त्यस्ता संरचना हटाउने र त्यस क्रममा लागेको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनीसमेत दिइएको छ।




