
कर्णाली । हुम्लामा प्रहरीले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा र बियर बरामद गरेको छ। नाम्खा गाउँपालिका–२ स्थित नावलथाङबाट लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले अवैध चिनियाँ मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल चिनियाँ मदिरा तथा १९४ कार्टुनमा रहेका ४ हजार ६५६ बोतल बडवाइजर बियर बरामद गरिएको हो।

बरामद मदिरा तथा बियरको कुल अनुमानित मूल्य ५१ लाख ९३ हजार ६०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी शंकर खड्काका अनुसार चिनियाँ मदिराको अनुमानित बजार मूल्य प्रतिबोतल ५०० रुपैयाँ र बडवाइजर बियरको प्रतिबोतल ३५० रुपैयाँ रहेको छ।
प्रहरीले बरामद मदिरा तथा बियरका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।




