
हुम्ला । हुम्लामा मंगलबार रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ।
नाम्खा, सिमकोटलगायतका उच्च तथा हिमाली क्षेत्रमा हिमपात भएको छ भने अदानचुली र ताँजाकोटलगायतका क्षेत्रमा रातिदेखि हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक गतिविधिसमेत प्रभावित भएको छ।

लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रका कच्ची सडक तथा गोरेटो बाटो हिलाम्मे बनेका छन्। कतिपय स्थानमा पानी जम्नुका साथै सडक अवरुद्ध हुन थालेपछि आवतजावतमा समस्या देखिएको स्थानीयले बताएका छन्। सर्केगाड–१ जैरका स्थानीय दीपक कार्कीका अनुसार खच्चामा सुक्खा पहिरो जाने समस्या रहेकामा लगातारको वर्षाले सडक थप जोखिमपूर्ण बनेको छ।
मौसममा आएको खराबीले खेतबारीमा रहेका पाक्न लागेका अन्नबाली तथा तरकारीमा समेत क्षति पुग्ने जोखिम बढेको छ। केही स्थानमा बाढीपहिरोको सम्भावना बढ्नुका साथै खोलानालामा पानीको बहावसमेत बढ्न थालेपछि स्थानीय त्रसित भएका छन्।
वर्षा र हिमपातका कारण पशुचौपायामा पनि समस्या परेको छ। चिसो बढेसँगै खुला स्थान तथा गोठमा रहेका पशुलाई आहार र संरक्षणमा कठिनाइ भएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात भइरहेकाले सम्भावित जोखिमबाट जोगिन स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन्। वर्षाबाट भएको क्षतिको विवरण संकलन भइरहेको र वर्षा अझै जारी रहेको प्रहरीले जनाएको छ।





