
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा बाहिर लैजाने वा चुहाउने कार्य स्वीकार्य नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पदले सूचना प्राप्त गर्ने अधिकार दिए पनि त्यसको दुरुपयोग गर्ने छुट कसैलाई नभएको स्पष्ट पारेका छन्। उनका अनुसार राज्यसँग सम्बन्धित संवेदनशील सूचना व्यक्तिगत सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी हो।

गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी र कर्मचारीले पदीय जिम्मेवारीको मर्यादा भुलेर गोप्य सूचना अनधिकृत व्यक्ति वा संस्थासम्म पुर्याउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको गुरुङले उल्लेख गरेका छन्।
उनले सानोभन्दा सानो सूचना, सुराक वा गोप्य विवरणले समेत अपराध नियन्त्रण, अनुसन्धान तथा गम्भीर घटनाको सत्यतथ्य पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
राज्यले सुम्पिएको गोपनीयता भंग गरी देश र संगठनप्रति विश्वासघात गर्ने जोसुकै भए पनि कानुनी दायरामा ल्याइने गृहमन्त्री गुरुङको चेतावनी छ।






