
शुक्रबार साँझ करिब ७ः४५ बजे गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय अगाडि गरिएको संयुक्त चेकजाँचका क्रममा भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको शिवहर जिल्ला रामपुर भटहा थाना निवासी २२ वर्षीय करण कुमार गिरी र ३५ वर्षीय लालबाबु राय रहेका छन्।

भन्सार सुरक्षा गार्ड तथा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, गौरबाट खटिएको संयुक्त टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ १ लाख ८ हजार ५ सय र एउटा मोबाइल फोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। बरामद रकमको स्रोत र उनीहरू नेपाल प्रवेश गर्नुको उद्देश्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





