
काठमाडौं । काठमाडौंको बुद्धनगर–थापाथली सडकखण्डमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार शंखमूलबाट थापाथलीतर्फ जाँदै गरेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल रोजबड स्कुल नजिकको पुलको रेलिङमा ठोक्किएपछि विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२-०६२ प ९६३१ नम्बरको स्कुटरसँग ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार रौतहट कटहरिया नगरपालिका–२ घर भई काठमाडौं बस्दै आएका २६ वर्षीय चन्द्रमान दास तत्माको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको राति १ः१० बजे उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय दिपेन्द्र दास घाइते भएका छन्। उनको अनुहारमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, स्कुटर चालक चितवन घर भई काठमाडौंको सतुंगल बस्ने २३ वर्षीय सुदिप श्रेष्ठ र पछाडि सवार सर्लाही घर भई शंखमूल बस्ने २८ वर्षीय मोहन शाह पनि घाइते भएका छन्। दुवैको टाउकोमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा भएका दुर्घटनामध्ये ५९ प्रतिशतभन्दा बढी दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित थिए। उनका अनुसार तीव्र गति दुर्घटनाको प्रमुख कारणमध्ये एक हो।





