
कञ्चनपुर । कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–३ को जङ्गलबाट लुकाइराखिएको एक थान कटुवा पेस्तोल बरामद गरेको छ।

प्रहरी टोलीले आइतबार साँझ जङ्गलको झाडीमा रुखको फेदमा लुकाएर राखिएको अवस्थामा पेस्तोल फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यस्तै, प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–१ का जनक खड्का र शुक्लाफाँटा नगरपालिका–८ का धिरेन्द्र महरा रहेका छन्।
प्रहरीका अनुसार खड्काको साथबाट १ ग्राम ८४० मिलिग्राम र महराको साथबाट ६ ग्राम ४१ मिलिग्राम खैरो हिरोइन बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




