
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव विशेष समारोह बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। नेपाल पुलिस क्लबको ‘द ब्लु प्याभिलियन’ सभाहलमा आयोजित समारोहमा ‘सहचरी स्मारिका–२०८३’ समेत विमोचन गरिएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, संघकी संस्थापक अध्यक्ष वसुन्धरा लामा, निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष संजीवी कार्की, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सावित्रीकुमारी जैसीलगायतको उपस्थिति थियो।

समारोहमा प्रमुख अतिथि मन्त्री बादीले समाजसेवी तथा ईसीडीसी/पुतली घरकी अध्यक्ष पुष्पा बस्नेत, समाजसेवी नवीन जोशी, तेक्वान्दो खेलाडी पलेशा गोवर्धन, प्रहरी जवान सराना बोहरा र प्रहरी कार्यालय सहयोगी नारिका राईलाई सम्मानपत्र प्रदान गरिन्।
त्यस्तै, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजसेवी पूजा विश्वकर्मा बस्नेत, कलाकार सरोज ओली, ‘सहचरी’ नाटकका रचनाकार तथा पूर्व प्रहरी नायब उपरीक्षक शिवराज बस्नेत र गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतमलाई कदरपत्र प्रदान गरे। उनले नेपाल प्रहरी श्रीमती संघको सामाजिक सेवाका क्षेत्रमा योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे।
कार्यक्रमकी सभाध्यक्ष तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले संघको सामाजिक सेवामा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई प्रशंसापत्र प्रदान गरिन्। प्रशंसापत्र प्राप्त गर्नेमा सीबीएम कलेजका अध्यक्ष लेखनाथ कोइराला, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलान, नेपाल एसबीआई बैंकका प्रमुख व्यवसाय विकास अधिकृत प्रविनमूनी बज्राचार्य, नेपाल प्रहरी अस्पतालकी प्रा.डा. जयन्ती ढंगाना, नेपाल प्रहरी संगीत विद्यालयका प्रहरी नायब उपरीक्षक रमनबहादुर पल्लिमगर, साहारा असहाय बाल सुधार गृहका सञ्चालक ईश्वरी गुरुङ, नेपाल प्रहरी श्रव्यदृश्य शाखाका प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष लामा, नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखाका प्रहरी जवान वीरेन्द्र बुढा र नेपाल प्रहरी अस्पतालका प्रहरी कार्यालय सहयोगी भवानी सापकोटा रहेका छन्।
अध्यक्ष कार्कीले संघको स्थापना कालदेखि हालसम्मको विकासमा योगदान पुर्याउने संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष तथा पदाधिकारीहरूको भूमिकाको स्मरण गर्दै सामाजिक सेवाका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने नेपाल प्रहरी संगठन, विभिन्न संघसंस्था र व्यक्तित्वप्रति आभार व्यक्त गरिन्।
कार्यक्रममा संघ तथा प्रदेशबाट सम्पन्न विभिन्न गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो। साथै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
संघकी सचिव (प्रशासन) वरुणा वडाल थपलियाले स्वागत मन्तव्य राखेको कार्यक्रम प्रहरी नायब निरीक्षक एलिजा गिरी र प्रहरी सहायक निरीक्षक विद्या घलेले सञ्चालन गरेका थिए।




