
भोजपुर। षडानन्द नगरपालिकामा स्थानीय तहको शान्ति–सुरक्षा, सामाजिक सद्भाव र आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले २४ सदस्यीय शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन गरिएको छ।
शुक्रबार इलाका प्रहरी कार्यालय दिङ्लाको परिसरमा आयोजित कार्यक्रममा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासको संयोजकत्व तथा उपप्रमुख प्रमिला राईको सह–संयोजकत्वमा विभिन्न जात, धर्म, समुदाय, पेशा, संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई समेटेर समावेशी रूपमा समिति गठन गरिएको हो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय दिङ्लाका प्रमुख प्रहरी निरीक्षक नवराज खड्काले समितिको आवश्यकता, उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै स्थानीय तहमा शान्ति–सुरक्षा कायम राख्न सबै पक्षबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
उपप्रमुख प्रमिला राईले नवगठित समितिले सामाजिक सद्भाव, सहिष्णुता र समुदाय–प्रहरी साझेदारीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
समिति संयोजक तथा नगर प्रमुख सुरेन्द्र उदासले नवगठित समितिले स्थानीय तहमा शान्ति, सुरक्षा, सामाजिक एकता र आपसी सद्भाव प्रवर्द्धनमा उदाहरणीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै सबै सरोकारवालालाई सक्रिय सहकार्यका लागि आग्रह गर्नुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवगठित समितिले स्थानीयस्तरमा उत्पन्न हुन सक्ने विवादको समयमै समाधान, सामाजिक सद्भावको संरक्षण तथा समुदाय–प्रहरी साझेदारीलाई थप सुदृढ बनाउन समन्वयात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।




