
इलाम । जिल्ला प्रशासन कार्यालय इलाम र जिल्ला प्रहरी कार्यालय इलामको संयुक्त आयोजनामा इलामको सूर्योदय नगरपालिका–११, तीनघरेस्थित सामुदायिक भवनमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुलदिप चन्दले गरेका थिए भने प्रमुख अतिथि इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल रहेका थिए।

नागरिक र सरोकारवालाबीच प्रत्यक्ष संवाद स्थापित गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष तथा सदस्य, संघसंस्थाका प्रतिनिधि, होटल व्यवसायी, सञ्चारकर्मी, पूर्व प्रहरी कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सेवा प्रवाह, शान्ति–सुरक्षा, सार्वजनिक सरोकारका विषय तथा नागरिकका चासो, गुनासा र जिज्ञासाहरू प्रस्तुत गरेका थिए। उठाइएका विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी कुलदिप चन्दले आवश्यक जवाफ दिँदै नागरिकका सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा नागरिक र प्रशासनबीचको सहकार्य तथा विश्वास अभिवृद्धि गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि यस्ता संवादमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।




