
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय युवा नेतृ कमला हमालले ‘जेन–जी उमेर समूह’ अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्।
नेपाली प्रेस युनियनको केन्द्रीय सदस्यसमेत रहेकी हमाल यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएकी थिइन्। पार्टीले विधान संशोधन गर्दै ३५ वर्ष उमेर पूरा नभएका युवालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने व्यवस्था गरेपछि उनले यसपटक युवा क्लस्टरबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारी अघि बढाएकी हुन्।

हमाल बाँकेको बैजनाथ गाउँपालिका–४ को वडा तहबाट पार्टीको अधिवेशन प्रक्रिया हुँदै क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएसँगै उनले केन्द्रीय सदस्यको तयारीलाई तीव्रता दिएकी हुन्।
उम्मेदवारीको तयारीसँगै हमालले काठमाडौंमा रहेका महाधिवेशन प्रतिनिधि, कांग्रेसका नेता तथा कार्यकर्तासँग भेटघाटलाई तीव्र बनाएकी छन्। देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका प्रतिनिधिसँग भेट गर्दै उनले आफ्नो उम्मेदवारी र आगामी राजनीतिक भूमिकाबारे जानकारी गराइरहेकी छन्।
भेटघाटका क्रममा आफूलाई सकारात्मक प्रतिक्रिया र सहयोगको आश्वासन प्राप्त भइरहेको हमालले बताएकी छन्। पार्टीमा युवाको अर्थपूर्ण सहभागिता र नयाँ पुस्ताको नेतृत्व विकास आवश्यक रहेको उनको धारणा छ।
नेपाली कांग्रेसले विधान संशोधनमार्फत केन्द्रीय समितिमा ‘जेन–जी उमेर समूह’को प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार ३५ वर्ष उमेर पूरा नभएका युवाका लागि छुट्टै क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट एक महिला र एक पुरुष गरी दुई जना निर्वाचित हुने तथा खुलातर्फ समेत ६ जना निर्वाचित हुने व्यवस्था गरिएको छ।
सोही व्यवस्थाअन्तर्गत हमालले लुम्बिनी प्रदेशको महिला कोटाबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारी गरेकी हुन्। पत्रकारिता र पार्टी संगठन दुवै क्षेत्रमा सक्रिय रहँदै आएकी हमालले युवा पुस्तालाई पार्टीको निर्णय प्रक्रियामा थप प्रभावकारी रूपमा सहभागी गराउने आफ्नो प्राथमिकता रहेको बताएकी छन्।
हमालले आफू केन्द्रीय सदस्यमा निर्वाचित भए पार्टीको संगठन निर्माण र राजनीतिक गतिविधिमा पूर्णकालीन भएर काम गर्ने योजना रहेको बताइन्।
‘म अब पार्टीमै पूर्णकालीन भएर काम गर्ने सोच बनाएकी छु। हामीजस्ता युवालाई महाधिवेशन प्रतिनिधिहरूले विश्वास गरेर अवसर दिनुहुनेछ भन्ने अपेक्षा छ,’ उनले भनिन्।
उनले युवा पुस्तालाई केवल मतदाता वा समर्थकका रूपमा सीमित नराखी पार्टीको नीति निर्माण, संगठन सञ्चालन र नेतृत्व तहमा समेत जिम्मेवारी दिनुपर्ने बताएकी छन्।
पत्रकारिताबाट सार्वजनिक सरोकारका विषयमा काम गर्दै आएकी हमालले पार्टी राजनीतिमा पनि युवाको आवाजलाई प्राथमिकताका साथ उठाउने बताएकी छन्। आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व संरचनामा नयाँ पुस्ताको सहभागिता बढ्ने अपेक्षा भइरहेका बेला उनको उम्मेदवारी तयारीलाई पनि युवा पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न क्लस्टरबाट उम्मेदवारीका आकांक्षीहरूबीच भेटघाट र आन्तरिक तयारी तीव्र भइरहेका बेला हमालले पनि आफ्नो पक्षमा समर्थन जुटाउन महाधिवेशन प्रतिनिधिसँगको भेटघाटलाई प्राथमिकतामा राखेकी छन्।





