काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको छोटो समयमै पुरुषोत्तम यादवले महत्वपूर्ण राजनीतिक जिम्मेवारी पाएका छन्। शुक्रबार पार्टी सभापति रवि लामिछानेले उनलाई सहमहामन्त्रीमा मनोनीत गरेपछि रास्वपाभित्र उनको राजनीतिक उचाइ थप बढेको छ।

 

यादवको राजनीतिक उक्लाइ समानुपातिक सांसदको सूचीबाटै सुरु भएको देखिन्छ। मधेसी पुरुष क्लष्टरको प्रारम्भिक सूचीमा उनी तेस्रो स्थानमा थिए। पछि सूचीको क्रम परिवर्तन गर्दै उनलाई पहिलो स्थानमा राखिएको र त्यसकै आधारमा उनी समानुपातिक सांसद बन्न सफल भएको रास्वपाभित्रका नेताहरू बताउँछन्।

 

त्यसपछि पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने अपेक्षा गरिएका यादवलाई शुक्रबार अप्रत्याशित रूपमा सहमहामन्त्रीको जिम्मेवारी दिइएको हो। यससँगै उनी महाधिवेशनबाट आएको रास्वपाको समितिमा मधेसबाट पदाधिकारी बन्ने पहिलो व्यक्ति बनेका छन्।

 

रास्वपा नेताहरूका अनुसार सभापति लामिछानेले मधेसमा आफ्नो विश्वासपात्रका रूपमा यादवलाई अघि बढाउन खोजिरहेका छन्। मधेसका सांसद तथा नेताहरूसँग समन्वयदेखि संगठन विस्तारसम्म यादव सक्रिय देखिएका छन्।

 

यादवको बढ्दो भूमिकालाई कतिपय नेताले मधेसमा पार्टीको नयाँ शक्ति केन्द्र निर्माण गर्ने प्रयासका रूपमा समेत व्याख्या गरेका छन्। यसअघि मधेसमा प्रभावशाली मानिएका मनिष झा महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि पार्टीभित्र उनको भूमिका कमजोर बनेको चर्चा छ।

 

यादवलाई सहमहामन्त्री बनाएसँगै अब मधेसमा संगठन विस्तार र प्रदेश तथा जिल्ला नेतृत्व चयनमा उनको भूमिका महत्वपूर्ण हुने देखिएको छ। रास्वपाले मधेस प्रदेशमा अधिवेशन गर्न बाँकी रहेका अवस्थामा यादवले संगठन निर्माणमा सक्रियता बढाउने तयारी गरेका छन्।

 

जेनजी आन्दोलनका सुरुवाती अभियन्तामध्येका एक मानिने यादव रास्वपामा प्रवेश गरेको करिब आठ महिनामै सांसद हुँदै पार्टीको शीर्ष पदाधिकारी बन्न सफल भएका हुन्। उनले इन्जिनियरिङसँगै आमसञ्चार तथा पत्रकारितामा स्नातक र भारतबाट एमबीए गरेका छन्।

 

यादवको तीव्र राजनीतिक उन्नतिले रास्वपाले मधेसमा नयाँ नेतृत्व र संगठनात्मक आधार निर्माण गर्न खोजेको संकेत दिएको नेताहरूको विश्लेषण छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय