४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय समितिलाई तत्काल पूर्णता नदिने संकेत गरेका छन्। विधानले सभापतिलाई मनोनयनमार्फत केन्द्रीय समिति तथा रिक्त पदमा पदपूर्ति गर्ने अधिकार दिएको भन्दै उनले आवश्यकताअनुसार क्रमशः मनोनयन गर्दै जाने बताएका हुन्।

 

रास्वपाको विधानअनुसार सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ। साथै, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्षसमेत सभापतिले मनोनयन गर्नुपर्ने प्रावधान छ।

 

विधानमा मनोनयनका लागि निश्चित समयसीमा तोकिएको छैन। यही कारण लामिछानेले आफूअनुकूल र आवश्यकताका आधारमा रिक्त पदमा क्रमशः जिम्मेवारी बाँडफाँट गर्ने संकेत गरेका छन्।

 

बुधबार रास्वपा सांसदहरूसँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै लामिछानेले केन्द्रीय समितिलाई पूर्णता दिने काम पाँच वर्षभित्र गर्न सकिने बताएका थिए। उनले योग्य व्यक्तिलाई क्रमशः जिम्मेवारीमा ल्याउने प्रक्रिया अघि बढिरहेको स्पष्ट पारे।

 

शुक्रबार बस्ने रास्वपाको केन्द्रीय समिति बैठकको कार्यसूचीमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको विषय समेटिएको छ। यद्यपि, बैठकबाटै सबै रिक्त पदमा मनोनयन हुने सम्भावना नरहेको लामिछानेको अभिव्यक्तिबाट देखिन्छ।

 

‘भोलि चार जना गरौँला, पर्सी पाँच जना गरौँला, अर्को दिन १० जना गरौँला’ भन्दै उनले मनोनयन चरणबद्ध रूपमा हुन सक्ने संकेत गरेका छन्।

 

यसैबीच, रास्वपाभित्र प्रधानमन्त्री बालेन्द्र शाहनिकट पक्षबाट पनि पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन हुने चर्चा छ। नेताहरूका अनुसार एक उपसभापति र एक महामन्त्रीसहित ५१ केन्द्रीय सदस्यमध्ये १८ जना बालेन पक्षबाट ल्याउने विषयमा चर्चा भए पनि शुक्रबार नै उक्त पक्षबाट नाम आउने सम्भावना नरहेको बताइएको छ।

 

बालेननिकट एक नेताका अनुसार मधेश प्रदेशको अधिवेशन सम्पन्न भएपछि मात्रै सो पक्षले केन्द्रीय सदस्यका लागि नाम अघि सार्नेछ। मधेशमा संगठनात्मक अधिवेशनहरू अझै पूर्ण रूपमा सम्पन्न भएका छैनन्।

 

रास्वपाले मधेश प्रदेशको अधिवेशन नसकिँदै केन्द्रीय महाधिवेशन सम्पन्न गरेको थियो। मधेशका आठ जिल्लामध्ये हालसम्म पर्सामा मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको बताइएको छ भने केही वडा तथा पालिका तहका अधिवेशनसमेत बाँकी छन्।

 

मधेश यात्राको तयारीमा रवि

मधेशमा संगठनात्मक गतिविधिलाई गति दिन सभापति लामिछाने आफैं मधेश यात्रामा जाने तयारीमा छन्। मधेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका एक सांसदका अनुसार लामिछानेले पर्साको ठोरीबाट यात्रा सुरु गरी त्यहाँको राजनीतिक तथा संगठनात्मक अवस्थाबारे जानकारी लिने तयारी गरेका छन्।

 

ती सांसदका अनुसार भदौ १२ पछि लामिछाने मधेश यात्रामा निस्कने तयारीमा छन्। मधेशको संगठनात्मक अवस्था र अधिवेशनको प्रगतिलाई समेत ध्यानमा राखेर आगामी केन्द्रीय मनोनयनका लागि नाम टुंग्याइने नेताहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय