
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेपछि वालेन शाह नेतृत्वको (रास्वपा) नयाँ सरकार गठनको तयारीमा जुटेको छ। पार्टीभित्र सरकारको संरचना, मन्त्रालयको आकार र नेतृत्वको जिम्मेवारी बाँडफाँटबारे आन्तरिक छलफल सुरु भएको बताइएको छ।
निर्वाचन परिणामअनुसार रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट प्राप्त गर्दै कुल १८२ सांसदको समर्थन जुटाएको छ। यही आधारमा बालेन्द्र साह प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको छ। थप दुई सांसदको समर्थन प्राप्त भएमा दुई तिहाइ बहुमत पुग्ने भएकाले उनको नेतृत्वमा बन्ने सरकार संसदमा निकै शक्तिशाली बन्ने आँकलन गरिएको छ।

समानुपातिक प्रणालीबाट संसदमा पठाइने सांसदहरूको अन्तिम सूची भने अझै सार्वजनिक भइसकेको छैन। निर्वाचन आयोगले औपचारिक रूपमा संख्या घोषणा गरेपछि पार्टीको बैठक बसेर सरकार गठन र मन्त्री चयनबारे औपचारिक निर्णय लिने तयारी गरिएको छ। हाल भने बालेन्द्र साह आफ्नो निकट समूहसँग सरकार गठनको प्रारम्भिक गृहकार्यमा केन्द्रित रहेको स्रोतले जनाएको छ।
रास्वपाको घोषणापत्रमा गैरसांसद व्यक्तिलाई पनि मन्त्री बनाउने व्यवस्था उल्लेख भए पनि संविधानअनुसार त्यस्ता मन्त्रीले ६ महिनाभित्र सांसद बन्नैपर्छ। अहिलेको राजनीतिक अवस्था र संवैधानिक प्रक्रियालाई हेर्दा छोटो समयमै त्यसरी सांसद बनाउने सम्भावना न्यून देखिएकाले बालेन्द्रले गैरसांसदलाई मन्त्री बनाउने योजना तत्कालका लागि अघि नबढाउने संकेत दिएका छन्।
मन्त्री चयनका क्रममा सांसदहरूको क्षमता, अनुभव र विषयगत दक्षतालाई मुख्य आधार बनाइने बताइएको छ। साथै, सरकारलाई चुस्त र प्रभावकारी बनाउन मन्त्रालयको संख्या घटाउने सोच पनि अघि सारिएको छ। संविधानले अधिकतम २५ मन्त्रीसम्मको व्यवस्था गरेको भए पनि अहिले रहेको २२ मन्त्रालयलाई घटाएर करिब १४–१५ मन्त्रालयमा सीमित गर्ने सम्भावनाबारे पार्टीभित्र छलफल भइरहेको स्रोतको दाबी छ।
यसरी मन्त्रालय संख्या कम गरी सानो तर प्रभावकारी सरकार बनाउने अवधारणा सफल भएमा बालेन्द्र साहको नेतृत्वमा बन्ने सरकार नेपालको संसदीय इतिहासमै फरक शैलीको शासन मोडेलको रूपमा देखिन सक्ने विश्लेषण गरिएको छ।



