
काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले औपचारिक रूपमा नयाँ राजनीतिक दल ‘ सम्मुनत नेपाल पार्टी’ स्थापना प्रक्रिया अघि बढाएका छन्। खनाल नेतृत्वको पार्टी दर्ताका लागि कात्तिक ३० गते अबेर निर्वाचन आयोगमा राजबाबु यादवले निवेदन दर्ता गरेका छन्।
सुरक्षा क्षेत्रमै खारिएको लामो अनुभव, देशप्रेम, र सुशासनप्रतिको गहिरो विश्वास– यी सबैलाई आधार बनाउँदै उनले “देश आफैँले बनाउने, नेतृत्व पनि आफैँले गर्ने” उद्देश्यसहित नयाँ पार्टी स्थापना गरेको बताएका छन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा खनाल काठमाडौं–६ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका थिए तर पराजित भए। त्यसपछि तनहुँ–१ को उपनिर्वाचनमा पनि चुनावमा उत्रिए, तर त्यहाँ पनि जित हासिल गर्न सकेनन्। राजनीतिक यात्रामा चुनौती आए पनि उनले आफूलाई जनताको विश्वास जित्न सक्षम विकल्पको रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेका छन्।
नेपाल प्रहरी सेवा अवधिभर खनाल कठोर, शिष्ट, कर्मठ र परिणाममुखी प्रहरी प्रमुखका रूपमा चिनिन्थे। अपराध नियन्त्रणमा देखाएको नेतृत्व, संवेदनशील घटनामा लिएको निर्णय क्षमता, र संगठन सुधारका लागि गरेको पहलका कारण उनी आम प्रहरी मात्र होइन, सम्पूर्ण नागरिकको नजरमा पनि ‘उत्कृष्ट प्रहरी आइकन’ मानिन्थे। यिनै गुण र विश्वासका आधारमा अब उनले राजनीतिमा पनि प्रभावकारी भूमिका खेल्ने अपेक्षा जनाइएको छ।
सुरक्षा, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर खनालले सुरु गरेको यो राजनीतिक अभियानले नेपाली राजनीतिमा नयाँ विकल्पको संकेत गरेको विश्लेषकहरूले बतााउँदै आएका छन्।




