सूचना प्रविधिको तीव्र विकासले हाम्रो जीवनलाई डिजिटल रूपमा सहज र प्रभावकारी बनाएको छ। बैंकिङ प्रणाली, व्यापार, संचार, शिक्षा, र मनोरञ्जन क्षेत्रमा प्रविधिको उपयोगले दैनिक जीवन सरल बनेको छ। तर, प्रविधिको दुरुपयोगसँगै साइबर अपराध (Cyber Crime) पनि बढ्दै गएको छ, जसले व्यक्तिगत तथा संस्थागत सुरक्षामा चुनौती उत्पन्न गरिरहेको छ।

साइबर अपराध के हो?

साइबर अपराध भनेको अनलाइन वा डिजिटल माध्यमबाट गरिने गैरकानूनी कार्य हो, जसमा निम्न अपराधहरू समावेश छन्:

व्यक्तिगत जानकारी चोरी (Identity Theft)

बैंक खाताबाट रकम चोरी

सामाजिक सञ्जालको दुरुपयोग

वेबसाइट ह्याकिंग

गलत सूचना फैलाउने कार्य

नेपालमा इन्टरनेटको पहुँच विस्तार भएसँगै यस्ता अपराधहरू तीव्र रूपमा वृद्धि हुँदै गएका छन्।

नेपालमा साइबर अपराध नियन्त्रणका लागि कानुनी व्यवस्था

नेपाल सरकारले साइबर अपराध नियन्त्रण गर्न विभिन्न कानुनी प्रबन्ध गरेको छ। हालै सरकारले व्यक्तिगत टेलिफोनसमेत रेकर्ड गर्ने तयारी गरेकाले यसमा विवाद उठेको छ।

नेपालमा साइबर अपराध नियन्त्रणका लागि प्रमुख कानुनी व्यवस्थाहरू निम्न छन्:

नेपालको विद्युतीय कारोवार ऐन २०६३ ले पनि गैरकानुनी विषयवस्तुका बारेमा व्यवस्था गरेको छ ऐनको दफा ४७ ले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय वीचको सुमधुर सम्बन्धलाई खलल पार्न किसिमका सामग्रीहरू तथा महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने किसिमका सामग्री कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको छ ।

१. विद्युतीय कारोबार ऐन, २०६३

यस ऐनअन्तर्गत कम्प्युटर ह्याकिङ, पासवर्ड चोरी, क्रेडिट कार्डको अवैध प्रयोग, गलत सूचना फैलाउने, यौनजन्य सामाग्री सम्प्रेषण गर्ने कार्यलाई अपराध मानिन्छ।

• दफा ४४ देखि ५८ सम्म विभिन्न अपराधका लागि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि ५ वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको छ।

• साइबर अपराधसम्बन्धी उजुरी प्रहरी प्रशासनमा गर्न सकिन्छ।

२. मुलुकी अपराध संहिता, २०७४

यस ऐनमा कसैको तस्बिर अनुमति बिना खिच्नु, सामाजिक सञ्जालमा राख्नु, अपमानजनक सामग्री पोष्ट गर्नु लगायत कार्यलाई अपराध मानिएको छ। 

विश्वमा साइबर अपराध र नेपालमा यसको प्रभाव—

सरकारले बढ्दो अपराधलाई नियन्त्रण गर्न विभिन्न कानुनी प्रबन्ध तथा कडाइका उपायहरू लागू गरिसकेको छ। साइबर अपराध र अन्य अपराध नियन्त्रण गर्ने उद्देश्यले सरकारले व्यक्तिगत टेलिफोनसमेत रेकर्ड गर्ने तयारी गरेकाले यसको व्यापक विरोध भइरहेको छ। तथापि, विकसित तथा सहरिया समाजमा साइबर अपराध भयावह रूपमा वृद्धि भई गम्भीर समस्याका रूपमा देखापरिरहेको छ।

सामान्य लाग्ने ख्यालख्यालमा गरिएका गल्तीहरूले पनि कानुनी कारबाहीको सामना गर्नुपर्ने स्थिति आउन सक्छ। त्यसैले, महिला, बालबालिका, विद्यार्थी लगायत सबै सचेत रहन आवश्यक छ। साथै, अभिभावक, विद्यालय, र समाजले साइबर सुरक्षाबारे सचेतना अभियान सञ्चालन गर्नुपर्छ।

नेपालमा मात्र होइन, विश्वभर नै साइबर अपराधका घटनाहरू तीव्र रूपमा वृद्धि भइरहेका छन्, जसका कारण विभिन्न कानुनी तथा सामाजिक समस्याहरू देखा परेका छन्। विशेषगरी, महिला, विद्यार्थी, र बालबालिका यस्ता अपराधबाट बढी पीडित हुने भएकाले उनीहरूलाई सचेत गराउनु अत्यावश्यक छ।

नेपालमा पनि यस्ता घटनाहरू तीव्र गतिमा बढिरहेका छन्। विशेष गरी ठगी, सामाजिक सञ्जाल दुरुपयोग, फेक अकाउन्टमार्फत अपराध, बैंकिङ ह्याकिङ, र ह्याकरहरूद्वारा वेबसाइट ह्याक गर्ने जस्ता अपराधहरू देखिन थालेका छन्।

महिला, बालबालिका, र साइबर अपराध:-

महिला, विद्यार्थी, र बालबालिका साइबर अपराधको मुख्य शिकार बन्ने गरेका छन्।

सामाजिक सञ्जालमा गलत सामग्री पोस्ट गर्ने, ठगी गर्ने, धम्की दिने कार्य

विद्यार्थीहरू साथीहरूको उक्साहट वा जिज्ञासाले गल्ती गर्ने

महिलामाथि साइबर हिंसा, चरित्र हत्या गर्ने प्रवृत्ति बढ्नु

नेपालको कानुनअनुसार १० वर्षभन्दा कम उमेरकालाई कुनै सजाय हुँदैन, तर १० वर्षभन्दा माथिकालाई अवस्था अनुसार सजायको प्रावधान छ।

साइबर अपराध नियन्त्रणका उपायहरू

व्यक्तिगत जानकारी सुरक्षित राख्ने

सामाजिक सञ्जालमा अञ्जान व्यक्तिसँग कुरा नगर्ने

बलियो पासवर्ड प्रयोग गर्ने र नियमित परिवर्तन गर्ने

शंकास्पद लिंक वा वेबसाइटमा क्लिक नगर्ने

कानुनी सचेतना र प्रविधिको सही प्रयोगबारे अभिभावक, शिक्षक, र समाजले जानकारी दिने

साइबर अपराध नेपालमा गम्भीर रूपमा बढिरहेको छ। यसको रोकथामका लागि कानुनी व्यवस्था त छ, तर आम नागरिक सचेत नभएसम्म यो पूर्ण रूपमा नियन्त्रण गर्न कठिन हुनेछ। राज्य, सुरक्षाकर्मी, तथा समाजले प्रविधिको सही उपयोग गर्न सचेतना अभियान सञ्चालन गर्नुपर्छ। साइबर सुरक्षामा लगानी बढाएर मात्र डिजिटल विश्वलाई सुरक्षित बनाउन सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय