
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको पाँचौँ युनाइटेड नेशन्स चिफ अफ पुलिस समिट (UNCOPS) मा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन्।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा असार २३ र २४ गते आयोजित समिटमा नेपालको प्रतिनिधित्व गरेका आईजीपी कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरूसहित वरिष्ठ प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए। स्वागतका लागि नेपाल प्रहरीका नौ जना एआईजी विमानस्थल पुगेका थिए।

समिटमा सहभागी हुन आईजीपी कार्कीसँगै सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पनि अमेरिका गएका थिए। भ्रमणका क्रममा उनीहरूले संयुक्त राष्ट्रसंघका अधिकारी तथा विभिन्न मुलुकका उच्चपदस्थ सुरक्षा अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
प्रहरी प्रधान कार्यालयका अनुसार समिटमा संयुक्त राष्ट्र प्रहरीको भविष्य, नयाँ प्रविधिको उपयोग, अन्तर्राष्ट्रिय सहकार्यको सुदृढीकरण, संयुक्त राष्ट्र शान्ति स्थापना मिसनका लागि भाषा प्रशिक्षण, लैङ्गिक उत्तरदायी प्रहरी सेवा तथा उच्चस्तरीय प्रहरी सञ्जाल विस्तारलगायत विषयमा छलफल भएको थियो।
आईजीपी कार्की र एपीएफका आईजी पौडेल असार २१ गते अमेरिका प्रस्थान गरेका थिए।




