
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ठूलो परिमाणमा अवैध पटाका बरामद गरेको छ। प्रहरीले बेदकोट नगरपालिका–७ स्थित गाउजीबाट करिब १६ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंगलबार उक्त स्थानमा खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न प्रकारका पटाका फेला पारेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार बरामद पटाका आवश्यक कानुनी प्रक्रियाका लागि नियन्त्रणमा लिइएको छ। पटाका कहाँबाट ल्याइएको हो, कसले भण्डारण गरेको थियो र यसको कारोबारमा को–को संलग्न छन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
चाडपर्व नजिकिएसँगै भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा अवैध रूपमा पटाका भित्र्याउने तथा बिक्री–वितरण गर्ने गतिविधि हुन सक्ने भन्दै प्रहरीले निगरानी र चेकजाँचलाई समेत कडाइ गरेको जनाएको छ।
प्रहरीले विशेषगरी तिहार लगायतका चाडपर्वका समयमा पटाका तथा अन्य विस्फोटक प्रकृतिका सामग्रीको अवैध ओसारपसार र कारोबार नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी बढाएको छ।





