
कपिलवस्तु, असोज १७ गते । कपिलवस्तुमा पछिल्लो साढे दुई महिनामा प्रहरीले १३ नाल घरेलु बन्दुक बरामद गरेको छ। अवैध हतियारसहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बरामद हतियारमध्ये १२ नाल घरेलु लामो बन्दुक र एक नाल छोटो बन्दुक छन्। यी हतियार साउनदेखि असोजको पहिलो सातासम्म विभिन्न स्थानबाट बरामद भएका हुन्।

प्रहरीका अनुसार साउनमा तीन जनासहित सात नाल, भदौमा पाँच नाल र असोजको पहिलो सातामा एक नाल घरेलु बन्दुक बरामद भएको हो।
अवैध हतियारको प्रयोगबाट आपराधिक गतिविधि हुन सक्ने भन्दै प्रहरीले हतियार राख्ने तथा प्रयोग गर्ने व्यक्तिमाथि निगरानी र कानुनी कारबाहीलाई तीव्रता दिएको जनाएको छ।





