
काभ्रेपलाञ्चोक / नुवाकोट — नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित थानाभन्ज्याङमा शनिबार बिहान रोकिराखेको बस अचानक गुडेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
काठमाडौंबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बाप्र ०८–००१ ख ००५२ नम्बरको बस चालक र यात्रुहरू सडक छेउमा खाजा खान ओर्लिएका बेला बिहान पौने ९ बजे अचानक आफैं गुडेको थियो। ओरालोमा गुडेको उक्त बसले नजिकै रोकिराखेको बाप्र ०३–००३ ज ११७६ नम्बरको खाली इभी भ्यानलाई ठक्कर दिँदै सडकबाट करिब ३० देखि ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर काभ्रेपलाञ्चोकको बनेपा–८ बस्ने ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछाप सुनापती–२ बस्ने ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको छ।
बसभित्रै रहेका अन्य तीन जना महिला घाइते भएका छन्। घाइते हुनेहरूमा लालबन्दी–९, सर्लाही घर भई हाल काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल (दाहिने हातमा चोट), बनेपा–१० काभ्रेकी ४२ वर्षीया सर्मिला श्रेष्ठ (बायाँ हातमा चोट) र मेलुङ–६ दोलखा घर भई हाल काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ (टाउको र ढाडमा चोट) रहेका छन्। घाइते तीनै जनाको काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीका अनुसार यात्रुहरू खाजा खान ओर्लिएकाले बसमा कुल कति जना सवार थिए भन्ने यकिन हुन बाँकी छ। प्रहरीले बस चालक काभ्रेको पाँचखाल–७ बस्ने ४५ वर्षीय सिताराम आचार्यलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अगाडि बढाएको छ।




