
वासिङ्टन डिसी । अमेरिकाले इरानमाथि थप आर्थिक दबाब बढाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य २.३ प्रतिशतले घटेर प्रतिब्यारेल करिब ९२ अमेरिकी डलरमा झरेको छ।
तेल बजारमा आएको गिरावटसँगै एसियाली सेयर बजारमा पनि मिश्रित प्रभाव देखिएको छ। दक्षिण कोरियाको कोस्पी सूचकाङ्क १.४ प्रतिशतले घट्दा टोकियो, साङ्घाई र ताइपेईका बजारसमेत ओरालो लागेका छन्। केही अन्य एसियाली बजार भने बढेका छन्।

यसैबीच, लगानीकर्ताको ध्यान अमेरिकी चिप निर्माता एनभिडियाको आगामी आम्दानी प्रतिवेदनतर्फ केन्द्रित भएको छ। एआई प्रविधिमा भइरहेको तीव्र लगानीले कम्पनीहरूको आम्दानी र बजार मूल्यमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई लगानीकर्ताले नजिकबाट नियालिरहेका छन्।
चिनियाँ प्रविधि कम्पनी अलिबाबाले एआई पूर्वाधार विस्तारका लागि हङकङमा करिब १०.२ अर्ब अमेरिकी डलर बराबरको नयाँ सेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ।
अमेरिकाले इरानमाथि आर्थिक दबाब बढाउन सहयोगी राष्ट्र र चीनलाई समेत सहभागी हुन आग्रह गरेको छ। यसबीच अमेरिकी मौद्रिक नीतिको आगामी दिशाबारे संकेत लिन लगानीकर्ताको नजर ज्याक्सन होलमा हुने केन्द्रीय बैंकका अधिकारी तथा अर्थशास्त्रीहरूको वार्षिक भेलातर्फ पनि परेको छ।
बढ्दो मुद्रास्फीति र अमेरिकी सरकारी ऋणका कारण ट्रेजरी बन्डको प्रतिफलमा समेत वृद्धि भएको छ। अमेरिकाको सङ्घीय ऋण ४० ट्रिलियन डलरभन्दा माथि पुगेको जनाइएको छ।




