
८ भदौ, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–८ दामाचौर र पाल्पाको रामपुर नगरपालिका–६ जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल ट्रस पुल निर्माण सम्पन्न भएको छ।
तीन वर्षमा सक्ने लक्ष्यसहित २०६८ सालमा सुरु भएको पुल निर्माण विभिन्न प्राविधिक समस्याका कारण १५ वर्षपछि पूरा भएको हो। १८१.६९ मिटर लामो र ११ मिटर चौडा पुल तीन स्पानमा निर्माण गरिएको छ।

सुरुमा वेल फाउन्डेसनको डिजाइनमा निर्माण थालिए पनि नदीको बीच भागमा पिल्लर राख्ने क्रममा करिब पाँच मिटरमै चट्टान भेटिएपछि काम रोकिएको थियो। त्यसपछि २०७८ सालमा डिजाइन परिवर्तन गरी वेल फाउन्डेसनको सट्टा पाइल फाउन्डेसनबाट पुल निर्माण गर्ने निर्णय गरिएको थियो।
सडक डिभिजन कार्यालय पाल्पाका अनुसार डिजाइन परिवर्तनसँगै आयोजनाको लागत २२.०५ प्रतिशत बढेर भ्याटसहित २१ करोड ६२ लाख ६१ हजार रुपैयाँभन्दा बढी पुगेको छ।
पुल सञ्चालनमा आएपछि स्याङ्जा र पाल्पाबीचको यातायात तथा आवागमन सहज हुने अपेक्षा गरिएको छ। साथै यसले आँधीखोला, पर्वत हुँदै मुक्तिनाथसम्मको आवागमन र उत्तरतर्फको व्यापारिक तथा पर्यटकीय सम्पर्क विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।




