
भरतपुर । गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक गतिविधि नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। आइतबार भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँगको छलफलका क्रममा उनले जनअपेक्षाअनुसार सुशासन कायम गर्न र लागुऔषध तथा अन्य आपराधिक घटनाको नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन्।

मन्त्री गुरुङले नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्नेगरी चुस्त र प्रभावकारी सेवा प्रवाह गर्न पनि निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
यसै क्रममा गृहमन्त्री गुरुङले जिल्लाका विभिन्न स्थानहरूको स्थलगत निरीक्षण तथा अवलोकनसमेत गरेका थिए। उनले शनिबार राति नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरो प्रभावित घोप्टेभिर र तुइन खोलालगायत क्षेत्रको अवलोकन गर्दै वर्षायाममा समस्या दोहोरिन नदिन तत्काल र प्रभावकारी काम गर्न निर्देशन दिएका थिए।
गृहमन्त्री गुरुङ हाल पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निरीक्षणका लागि नवलपरासी पूर्वतर्फ प्रस्थान गरेका छन्।



