
बिर्तामोड, झापा। बिर्तामोड क्षेत्रबाट मोटरसाइकल चोरीमा संलग्न समूहमाथि प्रहरीले सफल अपरेशन सञ्चालन गर्दै चार जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी जीवन श्रेष्ठको नेतृत्वमा सादा पोशाकका प्रहरी परिचालन गरी विशेष अपरेशन सञ्चालन गरिएको थियो। बिभिन्न सूचनाका आधारमा चलाइएको उक्त अपरेशन अन्तर्गत चोरीमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा कन्काई नगरपालिका–६ का रञ्जित राजवंशी, बिर्तामोड–३ का कुमार राजवंशी, बिर्तामोड–७ का जागिर आलम, र अर्का एक जना अज्ञात व्यक्तिको समेत संलग्नता रहेको बताइएको छ।
प्रहरीका अनुसार रञ्जित र कुमार चोरीमा सक्रिय थिए भने जागिर आलमलाई मोटरसाइकल चोरेर बिक्री गर्ने कार्यमा संलग्न बनाइन्थ्यो। समूहगत रुपमा सञ्चालित यस गिरोहले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी अवैध रूपमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथसाथै, मोटरसाइकल चोरीमा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजी पनि जारी राखिएको छ।