
काठमाण्डौं— जिल्ला प्रहरी कार्यालय पर्साको कमान सम्हालेदेखि नै प्रहरी प्रमुख एसपी गौतम मिश्र कठोर कार्यशैलीका साथ सुरक्षाको मोर्चामा खरो रूपमा उत्रिएका छन्। उनको नेतृत्वमा पर्सा प्रहरीले छोटो अवधिमा उल्लेखनीय सफलता हात पार्न सफल भएको छ। एसपी मिश्रको कडा निर्देशन र निरन्तर सक्रियताले जिल्लामा अपराध नियन्त्रण तथा तस्करी रोकथाम अभियानलाई तीव्र बनाएको छ।
सबैभन्दा ठूलो उपलब्धि भनेको एकैदिनमा १९५ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा प्रस्तुत गर्नु हो। विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर लामो समयदेखि फरार रहेका ती प्रतिवादीहरूलाई जिल्लाका विभिन्न स्थानबाट एकसाथ पक्राउ गर्न पर्सा प्रहरीले सफल भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, ती १९५ जनामाथि कूल १ करोड १२ लाख ८० हजार ३३८ रुपैयाँ जरिवाना र ३८ वर्ष १ महिना ७ दिन बराबरको कैद सजायको माग थियो। पक्राउ परेका सबैलाई बुधवार पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको हो, जहाँ उनीहरूलाई कानूनअनुसार अगाडि बढाइएको छ।
एसपी मिश्रले न्यूजकारखाना सँग कुरा गर्दै भने, “एकैदिनमा १९५ जना फरार प्रतिवादीलाई पक्राउ गर्नु पर्सा प्रहरीको लागि गर्वको कुरा हो। यसले देखाउँछ कि हामी कानुनी शासन कार्यान्वयनमा कति गम्भीर छौं।”
उनको निर्देशनमा हाल तस्करी, लागुऔषध कारोबार, संगठित अपराध, तथा फरार प्रतिवादीविरुद्ध विशेष अभियान सञ्चालन भइरहेको छ। यसअघि पनि पर्सा प्रहरीले करोडौं मूल्य बराबरको अवैध सामान बरामद गर्दै तस्कर र अपराधीविरुद्ध कडा कदम चालेको थियो।
एसपी मिश्रको कडाइले अपराधी र तस्करमाझ खैलाबैला मच्चिएको स्थानीय नागरिक र व्यवसायीहरूले बताएका छन्। पर्सा प्रहरीको यो कदमले जनताको विश्वास जित्न सफल भएको छ भने सीमावर्ती क्षेत्रको सुरक्षामा उल्लेखनीय सुधार आएको जनाइएको छ।
यस अभियानलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै एसपी मिश्रले भने, “कानूनको शासन कार्यान्वयनमा कुनै कसर बाँकी राखिँदैन। अपराधीलाई कुनै हालतमा उन्मुक्ति दिइने छैन।”
पर्सा प्रहरीको यो साहसी र संगठित कार्यशैलीले जिल्ला मात्र होइन, समग्र प्रदेशमै सुरक्षा संयन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।