
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील तथा गोप्य सूचनाको दुरुपयोग गर्ने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन्।
गृहमन्त्री गुरुङले राज्यको गोपनीय सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताएका हुन्। पदले संवेदनशील सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ।

उनले राज्य संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान तथा भविष्यमा गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण हुने बताए।
राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिँदै गृहमन्त्री गुरुङले त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याइने स्पष्ट पारे।





