काठमाडौं । बडादसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले ४५ दिने विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि, चोरी, लुटपाट, ठगी तथा सवारी दुर्घटना न्यूनीकरण गर्दै राजधानीको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सुरक्षा योजना लागू गरिएको हो।

शुक्रबारदेखि सुरु भएको विशेष सुरक्षा योजना कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। योजनाअन्तर्गत काठमाडौंका मुख्य बजार, व्यापारिक क्षेत्र, बसपार्क, सार्वजनिक स्थल, धार्मिक तथा पर्यटकीय क्षेत्र र अन्य संवेदनशील स्थानमा विशेष सुरक्षा निगरानी बढाइने प्रहरीले जनाएको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरे र एसपी दानबहादुर थापाले विगतका वर्षमा चाडपर्वका समयमा देखिएका अपराधका प्रकृति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमको विश्लेषण गरी यस वर्षको सुरक्षा योजना तयार पारिएको जानकारी दिए।

चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिसहरू घर फर्किने, कतिपय घर लामो समयसम्म खाली रहने तथा बजार र सार्वजनिक यातायातमा अत्यधिक भीडभाड हुने भएकाले सुरक्षा चुनौती बढ्ने प्रहरीको आकलन छ। यही अवस्थालाई मध्यनजर गर्दै सम्भावित चोरी, लुटपाट, पाकेटमारी, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइने प्रहरीले जनाएको छ।

३ हजार ५ सय ६ प्रहरी परिचालन

विशेष सुरक्षा योजनाअन्तर्गत काठमाडौंका विभिन्न स्थानमा ३ हजार ५ सय ६ जना प्रहरी जनशक्ति परिचालन गरिनेछ। प्रहरीका अनुसार मुख्य बजार, बसपार्क, टिकट काउन्टर, भीडभाड हुने क्षेत्र तथा सुरक्षा संवेदनशील स्थानमा प्रहरीको उपस्थिति बढाइनेछ।

योजनाअनुसार नियमित गस्तीका अतिरिक्त पैदल गस्ती, मोटरसाइकल गस्ती तथा आवश्यकताअनुसार सादा पोसाकमा प्रहरी परिचालन गरिनेछ। सम्भावित आपराधिक गतिविधिमाथि निगरानी राख्न सूचना संकलन तथा विश्लेषणलाई समेत प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

टिकट काउन्टरदेखि सवारीसाधनसम्म निगरानी

चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले बसपार्क तथा सार्वजनिक यातायातका क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइनेछ। यात्रुलाई टिकट काट्ने क्रममा हुने ठगी, तोकिएकोभन्दा बढी भाडा असुली तथा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने (ओभरलोड) कार्य नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिने एसपी थापाले बताए।

त्यस्तै, लामो दूरीका सार्वजनिक सवारीसाधनको अवस्था, चालकको व्यवहार, यात्रुको सुरक्षा तथा सडकमा हुने सम्भावित जोखिममाथि समेत निगरानी बढाइने प्रहरीले जनाएको छ।

हेल्प डेस्क र सीसीटीभी निगरानी

सर्वसाधारणलाई तत्काल प्रहरी सहायता उपलब्ध गराउन विभिन्न स्थानमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिनेछ। चाडपर्वका क्रममा हराएका व्यक्ति तथा सामानसम्बन्धी सूचना, ठगी वा अन्य समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने गरी सहायता कक्ष सञ्चालन गरिने प्रहरीले जनाएको छ।

त्यसैगरी, काठमाडौंका विभिन्न क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेरामार्फत निरन्तर निगरानी गरिनेछ। शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरी टोली परिचालन गर्ने र आवश्यक अनुसन्धानका लागि सीसीटीभी फुटेज प्रयोग गर्ने रणनीति प्रहरीको छ।

खाली घर र भीडभाड हुने क्षेत्रमा विशेष निगरानी

दसैं, तिहार तथा छठका समयमा ठूलो संख्यामा नागरिक काठमाडौं बाहिर जाने भएकाले घर तथा आवासीय क्षेत्रमा चोरीका घटना हुनसक्ने जोखिमलाई प्रहरीले प्राथमिकतामा राखेको छ। घर लामो समय खाली छाड्दा छिमेकी तथा सम्बन्धित व्यक्तिलाई जानकारी गराउन र सम्भावित जोखिमबारे प्रहरीलाई सूचना दिन प्रहरीले आग्रह गरेको छ।

बजार तथा भीडभाड हुने क्षेत्रमा पाकेटमारी, चोरी, लुटपाट तथा ठगीका घटना हुनसक्ने भएकाले सर्वसाधारणलाई आफ्नो नगद, मोबाइल, गरगहना तथा अन्य बहुमूल्य सामानको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले अनुरोध गरेको छ।

‘दसैं कसैका लागि दशा नबनोस्’

‘दसैं कसैका लागि दशा नबनोस्’ भन्ने मूल मर्मका साथ सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको एसएसपी घिमिरेले बताए।

उनका अनुसार चाडपर्वका समयमा प्रहरीको सुरक्षा उपस्थिति बढाउनुका साथै नागरिक स्वयंलाई पनि सुरक्षा सचेत बनाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ।

एसएसपी घिमिरेले चाडपर्वका बेला आपराधिक समूहले भीडभाड र मानिसहरूको आवतजावतलाई अवसरका रूपमा प्रयोग गर्न सक्ने भएकाले नागरिकलाई सचेत र सतर्क रहन आग्रह गरे।

प्रहरीले कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ। सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गरी चाडपर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण बनाउन प्रहरी तथा नागरिकबीचको सहकार्यलाई समेत प्राथमिकता दिइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय