
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकास तथा नीति निर्माणमा अधिकतम उपयोग गर्न आग्रह गर्नुभएको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ विचार र प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गर्नुभएको हो।

छलफलमा प्रधानमन्त्री शाहले सांसदहरू आफैं प्राविधिक विषयमा जानकार रहेको उल्लेख गर्दै नीति निर्माण गर्ने स्थानमा रहेकाले देश विकासका लागि आफ्नो विज्ञताको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “तपाईंहरू आफैं प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”
प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि आफ्नो प्राविधिक विज्ञतामा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो।
प्रधानमन्त्री शाहले सांसदहरूलाई परिवर्तनका संवाहकका रूपमा उल्लेख गर्दै नयाँ उपाय र विचारका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नयाँ सोच र त्यसको प्रभावकारी कार्यान्वयनमार्फत पाँच वर्षमै मुलुकमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने धारणा राख्नुभएको थियो।
प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्री शाहले यसअघि पनि प्रविधि, डिजिटल सुशासन, प्राविधिक शिक्षा तथा दिगो विकासलगायत विषयमा छलफल गर्दै आउनुभएको छ।





