काठमाडौं । नेपाल प्रहरीको मासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको छ। अपराध नियन्त्रणदेखि नागरिकमैत्री सेवा प्रवाहसम्मका विभिन्न सूचकमा उत्कृष्ट नतिजा ल्याएपछि काठमाडौं प्रहरी शीर्ष स्थानमा उक्लिएको हो।

नेपाल प्रहरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, अनुसन्धानको प्रभावकारिता, फरार अभियुक्त पक्राउ, समुदाय–प्रहरी साझेदारी तथा सेवा प्रवाहलगायतका मापदण्डका आधारमा गरेको मूल्याङ्कनमा काठमाडौं प्रहरी सबैभन्दा अगाडि देखिएको हो।

हाल जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले सम्हालिरहेका छन्। उहाँको नेतृत्वमा प्रविधिमैत्री प्रहरी परिचालन, द्रुत अनुसन्धान प्रणाली तथा नतिजामुखी कार्यशैलीलाई प्राथमिकता दिइएको छ, जसको सकारात्मक प्रभाव कार्यसम्पादनमा देखिएको प्रहरी स्रोत बताउँछ।

काठमाडौं प्रहरीले इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम (EQRT), जीपीएसमार्फत प्रहरी परिचालन, फरार अभियुक्त पक्राउ अभियान तथा अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाएको छ। लामो समयदेखि फरार रहेका अभियुक्त पक्राउ गर्नुका साथै जरिवाना असुलीमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको जनाइएको छ।

त्यसैगरी ज्यानसम्बन्धी, आर्थिक, महिला तथा बालबालिकासम्बन्धी अपराधको अनुसन्धानलाई थप प्रभावकारी बनाइएको छ। ‘हाम्रो प्रहरी’ अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवाद, गुनासो सुनुवाइ र समुदाय–प्रहरी सहकार्यलाई पनि उच्च प्राथमिकतामा राखिएको छ।

प्रविधिको बढ्दो प्रयोग, द्रुत प्रहरी परिचालन, अनुसन्धानमा सुधार तथा नागरिकमुखी सेवा प्रवाहका कारण काठमाडौं प्रहरीको कार्यसम्पादन निरन्तर सुदृढ बन्दै गएको देखिन्छ। देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये पहिलो स्थान हासिल गर्नु प्रभावकारी नेतृत्व, संगठनभित्रको अनुशासन र सम्पूर्ण प्रहरी टोलीको समन्वित प्रयासको परिणामका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय