
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले ८८ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार असार १० गते विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१७, ढल्कुबाट रामेछापको दोरम्बा गाउँपालिका–३ घर भएका ४२ वर्षीय टेकबहादुर थापा मगरलाई ८ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा टेकबहादुरलाई खैरो हेरोइन बिक्री गर्ने व्यक्तिको पहिचान भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा असार १२ गते दैलेखको दुल्लु नगरपालिका–१० घर भई हाल ललितपुर महानगरपालिका–७, बालकुमारी बस्दै आएका २४ वर्षीय सन्तबहादुर बस्नेतलाई पक्राउ गरिएको हो। उनको साथबाट थप ८० ग्राम खैरो हेरोइन बरामद भएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
प्रहरीका अनुसार दुवै जनाबाट बरामद भएको खैरो हेरोइनको कुल परिमाण ८८ ग्राम ७२० मिलिग्राम रहेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।



