
काठमाडौं । नेपाल प्रहरीमा तल्लो तथा मध्य नेतृत्व तहका अधिकृतहरूको सरुवा सम्पन्न भइसके पनि अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको जिम्मेवारी हेरफेर भने अझै टुंगोमा पुग्न सकेको छैन। यसले संगठनभित्र नेतृत्व तहको व्यवस्थापन र अवसर वितरणबारे विभिन्न चर्चा सुरु भएको छ।
प्रहरी प्रधान कार्यालयले हालै डीएसपी, एसपी तथा एसएसपीहरूको सरुवा गरेपछि अब सबैको ध्यान एआईजी तहको जिम्मेवारी परिवर्तनतर्फ केन्द्रित भएको छ। तर लामो समयसम्म निर्णय हुन नसक्दा केही वरिष्ठ अधिकारीहरू नयाँ जिम्मेवारीको प्रतीक्षामा रहेको बताइन्छ।

नेपाल प्रहरीमा जनपदतर्फ आठ एआईजी दरबन्दी रहेका छन्। मानवस्रोत विकास, प्रशासन, कार्य, अपराध अनुसन्धान, प्रदेश समन्वय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयजस्ता महत्वपूर्ण निकायहरूको नेतृत्व एआईजीहरूले सम्हाल्दै आएका छन्।
विगतका वर्षहरूमा एआईजी तहमा छिटोछिटो जिम्मेवारी फेरबदल हुने अभ्यास देखिए पनि यसपटक भने केही अधिकारीहरूले एउटै जिम्मेवारी सम्हालेको झण्डै एक वर्ष पुग्न लागेको छ। यही कारणले संगठनभित्र नयाँ अवसर र अनुभवको वितरणबारे बहस बढ्न थालेको हो।
हाल सीआईबीको नेतृत्व एआईजी डा. मनोज केसीले गरिरहेका छन् भने मानवस्रोत विकास विभागमा एआईजी राजन अधिकारी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजी सिद्धिविक्रम शाह कार्यरत छन्। त्यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व एआईजी ईश्वर कार्कीले सम्हालिरहेका छन्।
यसैबीच एआईजी डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, सुशील सिंह राठौर तथा हिमालयकुमार श्रेष्ठलाई पनि नयाँ जिम्मेवारी प्राप्त हुने वा नहुने विषय संगठनभित्र चासोको केन्द्र बनेको छ।
स्रोतहरूका अनुसार गृह मन्त्रालयले नेतृत्व तहको जिम्मेवारी पुनः व्यवस्थापनबारे गृहकार्य गरिरहेको छ। केही महत्वपूर्ण विभागहरूमा वर्तमान नेतृत्वलाई निरन्तरता दिने वा नयाँ अनुहारलाई अवसर प्रदान गर्ने विषयमा छलफल भइरहेको बताइए पनि अन्तिम निर्णय भने मन्त्रिपरिषद्बाट हुनेछ।
प्रहरी वृत्तमा लामो समयदेखि नेतृत्व तहमा अवसरको समान वितरण र नियमित रोटेसन प्रणाली आवश्यक रहेको धारणा व्यक्त हुँदै आएको छ। विभिन्न विभाग र कमाण्डमा काम गर्ने अवसरले अधिकारीहरूको अनुभव विस्तार हुनुका साथै संगठनको कार्यक्षमतामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।
केही अधिकारीहरू कार्यसम्पादन र अनुभवका आधारमा महत्वपूर्ण जिम्मेवारीका दाबेदार मानिए पनि अपेक्षाअनुसार अवसर नपाएको गुनासो संगठनभित्र सुनिने गरेको छ। यसले क्षमता, कार्यसम्पादन र अवसरबीचको सम्बन्धबारे समेत प्रश्न उठाउने गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा संगठनात्मक आवश्यकताअनुसार प्रस्तावहरू तयार भइरहेको र सरकारसँग आवश्यक समन्वय जारी रहेको बुझिएको छ। सुरक्षा प्रशासनका जानकारहरू नेतृत्व तहमा समयानुकूल जिम्मेवारी परिवर्तन हुँदा नयाँ ऊर्जा, अनुभवको आदानप्रदान तथा कार्यसम्पादनमा सकारात्मक प्रतिस्पर्धा सिर्जना हुने बताउँछन्।



