काठमाडौं । केही दिनअघि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूको सरुवासम्बन्धी निर्णयसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा पनि परिवर्तन गरिएको थियो। उक्त निर्णयअनुसार एसएसपी शान्तिराज कोइरालालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको थियो।

तर मापदण्डविपरीत ‘इन्चार्ज टु इन्चार्ज’ जिम्मेवारी दिइएको भन्दै सरुवाको निर्णय सार्वजनिक भएलगत्तै संगठनभित्र र बाहिरबाट प्रश्न उठ्न थालेका थिए। त्यसपछि सरकारले उक्त निर्णय पुनरावलोकन गर्दै सच्याउने तयारी गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रारम्भिक निर्णयमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा खटाइएका एसएसपी शान्तिराज कोइरालाको सरुवालाई लिएर संगठनभित्र विभिन्न तहमा असन्तुष्टि देखिएको थियो। साथै प्रहरी संगठनमा स्थापित सरुवा मापदण्ड र कार्यप्रणालीको विषयलाई लिएर समेत बहस सुरु भएको थियो।

हाल नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जका प्रमुख रहेका एसएसपी कोइरालालाई त्यही स्तरको अर्को कार्यालयको नेतृत्वमा सरुवा गरिएको विषयले चर्चा पाएको थियो। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत उक्त निर्णयबारे विभिन्न टिप्पणी आएपछि सरकारले अन्ततः निर्णय सच्याउने निष्कर्षमा पुगेको बताइएको छ।

सरकारले अब एसएसपी शान्तिराज कोइरालाको स्थानमा एसएसपी सुरेश प्रसाद काफ्लेलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा पठाउने निर्णय गरेको छ। काफ्ले संगठनभित्र अनुभवी तथा सक्षम अधिकृतका रूपमा परिचित छन्। ट्राफिक व्यवस्थापन, प्रशासनिक नेतृत्व तथा संगठन सञ्चालनमा उनको अनुभवलाई आधार बनाएर जिम्मेवारी दिइएको बताइएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय नेपाल प्रहरीभित्रको सबैभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारीमध्ये एक मानिन्छ। राजधानीको बढ्दो सवारी चाप, सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणजस्ता संवेदनशील विषयसँग प्रत्यक्ष जोडिएको कार्यालय भएकाले यसको नेतृत्व चयनलाई विशेष महत्वका साथ हेरिने गरिन्छ।

यद्यपि यस विषयमा गृह मन्त्रालय वा नेपाल प्रहरी मुख्यालयबाट औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन। तर स्रोतका अनुसार निर्णय कार्यान्वयनको प्रक्रिया अगाडि बढिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय