
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले सम्हालेका छन्। गृह मन्त्रालयको निर्णयअनुसार सरुवा भएर आएका घिमिरेले बिहीबारदेखि औपचारिक रूपमा काठमाडौं प्रहरीको कमान्ड सम्हालेका हुन्।
गृह मन्त्रालयले गत सोमबार घिमिरेलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा गरेको थियो। सरुवापछि उनी बिहीबार परिसरमा हाजिर भई प्रमुखको जिम्मेवारी ग्रहण गरेका छन्।

यसअघि परिसरको नेतृत्व गरिरहेका एसएसपी रमेश थापा भने बिहीबारदेखि बिदा भएका छन्। थापाले करिब नौ महिनासम्म काठमाडौं प्रहरीको नेतृत्व गरेका थिए।
उनले नेतृत्व सम्हाल्दा काठमाडौं प्रहरी संगठनभित्र भौतिक पूर्वाधारको अभाव, अधिकांश प्रहरी कार्यालयमा पर्याप्त बसोबासको व्यवस्था नहुनु तथा प्रहरी कर्मचारीको मनोबल खस्किएको अवस्था जस्ता चुनौतीहरू रहेको बताइन्छ। त्यस्तो परिस्थितिमा उनले राजधानीको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाएको प्रहरी अधिकारीहरू बताउँछन्।
विशेषगरी जेन–जी आन्दोलनपछिको संवेदनशील र चुनौतीपूर्ण समयमा काठमाडौंको सुरक्षा व्यवस्थापन, विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा उच्च प्रोफाइलका मुद्दाहरूको व्यवस्थापनमा थापाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
उनको कार्यकालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित पक्राउ तथा अनुसन्धान प्रक्रियासहित विभिन्न संवेदनशील विषयमा प्रहरीले जिम्मेवारीपूर्वक काम गरेको उल्लेख गरिएको छ।
नवनियुक्त एसएसपी घिमिरेले राजधानीको सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।



