काठमाडौँ । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका छन्।

महानगर कार्यपालिकाको निर्णयअनुसार नगर प्रहरीको नेतृत्व सम्हाल्दै आएका जोशीलाई नगर प्रहरी उपरीक्षक (एसपी) बाट बढुवा गरी एसएसपीको जिम्मेवारी दिइएको हो। महानगर कार्यपालिकाले गत जेठ ३ गते नै उनको बढुवाको निर्णय गरेको थियो। सोही निर्णयअनुसार बुधबार उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल को उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँई ले जोशीलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए।

नवनियुक्त एसएसपी जोशीको महानगर प्रहरीमा तीन दशकभन्दा लामो सेवा अनुभव रहेको छ। उनले वि.सं. २०५० साल भदौ १४ गते नगर प्रहरी सई (नायव निरीक्षक) पदबाट सेवा सुरु गरेका थिए। २०६३ सालमा नगर प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएका उनी २०७० सालमा नगर प्रहरी नायव उपरीक्षक (डीएसपी) बनेका थिए। त्यसपछि २०७३ सालमा नगर प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका थिए।

बढुवापछि प्रतिक्रिया दिँदै एसएसपी जोशीले महानगरपालिकाको निर्णयले आफूलाई थप जिम्मेवार र समर्पित भएर काम गर्न प्रेरणा दिएको बताए। उनले आफ्नो लामो सेवायात्रा र कार्यसम्पादनको मूल्याङ्कन गर्दै गरिएको निर्णयले समग्र नगर प्रहरी बलको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरे।

यसअघि महानगर प्रहरी प्रमुख रहेका राजुनाथ पाण्डे ले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएपछि जोशीले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए। अब बढुवासँगै उनले महानगर प्रहरी बलको नेतृत्व औपचारिक रूपमा एसएसपीका रूपमा गर्ने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय