विराटनगर, मोरङ — नेपाल राष्ट्र बैंक र नेपाल प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्यमा वित्तीय लगानी तथा आमविनाशका हातहतियार निर्माण र विस्तारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण विषयक पाँचदिने अनुशिक्षण तालिम विराटनगरमा सुरु भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल को प्रमुख आतिथ्यता तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की को विशिष्ट आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा गभर्नर पौडेलले वित्तीय प्रणालीमा पारदर्शिता, सुशासन र आर्थिक स्थायित्व कायम गर्न सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी तथा आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले यस्ता अपराधको अनुसन्धान तथा निगरानीमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति विकास आवश्यक रहेको उल्लेख गर्दै वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीहरूको सामना गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल ले तालिमको उद्देश्य र महत्वबारे जानकारी दिएका थिए। कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी ले स्वागत मन्तव्य तथा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनी ले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयाँल, नेपाल राष्ट्र बैंकका निर्देशक शरणकुमार अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख, अनुसन्धान अधिकृत, प्रशिक्षार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

तालिममा सहभागी प्रहरी अधिकृतहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी, आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।

वित्तीय अपराधको बदलिँदो स्वरूपलाई ध्यानमा राख्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा कोशी प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा अनुसन्धान गर्ने प्रहरी इकाइमा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृत सहभागी छन्। पाँच दिनसम्म सञ्चालन हुने तालिमले वित्तीय अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय